एघारौं अध्याय – विश्वरूपदर्शन
(अर्जुन द्वारा विश्वरूप दर्शन को लागि प्रार्थना)
अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मसञ्ज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोऽयं विगतो मम ॥ (१)
अर्जुनले भने – एतिवेला, हजुरले ममा कृपा गरेर दिनु भएर अत्यन्त गोपनीय
आध्यात्मिक उपदेश सुनेर मेरो मोह समाप्त भएको छ |
भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।
त्वतः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम् ॥ (२)
हे कमल नयन श्रीकृष्ण ! मैले हजुरबाट समस्त प्राणीहरूको उत्पत्ति र विनाशका
विषयमा विस्तार पूर्वक सुनेको छु र तपाईं अविनाशिकोको महत्व पनि बुझेको छु |
एवमेतद्यथात्थ त्वमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रूपमैश्वरं पुरुषोत्तम ॥ (३)
हे परमेश्वर ! हे पुरुषोत्तम ! यद्यपि मैले यहाँ हजुरको परमेश्वर स्वरूपको दर्शन
गरिरहेको छु तथापि ममा अहिले हजुरको विश्वरूपको दर्शन गर्ने अभिलाषा छ |
मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ॥ (४)
हे ईश्वर, हे प्रभु ! यदि हजुरले मलाई हजुरको विश्वरूप हेर्न सक्छ भन्ने ठान्नुहुन्छ
भने हजुरको त्यो अब्ययरूप देखाउँनुहोस् |
(भगवान द्वारा विश्वरूप को वर्णन)
श्रीभगवानुवाच
पश्य मे पार्थ रूपाणि शतशोऽथ सहस्रशः ।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च ॥ (५)
श्रीभगवानले भन्नुभयो – हे पार्थ ! मेरा सयौं-हजार नानाथरिका र अनेकौं आकार-प्रकार
एवं रूपरंगका दिब्य रूपहरू हेर |
पश्यादित्यान्वसून्रुद्रानश्विनौ मरुतस्तथा ।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ॥ (६)
हे भारत ! अब आदित्यहरू, बसुहरू, रूद्रहरू, अश्विनी कुमारहरू र मरुतहरू सहित
तिमीले पहिले नदेखेका नसुनेका अनेकौं आश्चर्यजनक कुराहरू हेर |
इहैकस्थं जगत्कृत्स्नं पश्याद्य सचराचरम् ।
मम देहे गुडाकेश यच्चान्यद्द्रष्टमिच्छसि ॥ (७)
हे गुडाकेश ! आज तिमीले हेर्ने चाहेजति कुरा एकै ठाउँ मेरो स्वरूपमा हेर र भविष्यमा
तिमीले हेर्न चाहेका चराचर वस्तुहरू पनि यहाँ तिमीले देख्न सक्नेछौ |
न तु मां शक्यसे द्रष्टमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम् ॥ (८)
यी तिम्रा साधारण आँखाले मलाई देख्न सकदैनन् अत: त्यसका लागि म तिमीलाई दिव्य
आँखा दिन्छु, तिनैबाट मेरो दिब्य ऐश्वर्यपूर्ण रूप हेर्न समर्थ हुन्छौं |
(संजय द्वारा धृतराष्ट्र समक्ष विश्वरूप को वर्णन)
संजय उवाच
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरिः ।
दर्शयामास पार्थाय परमं रूपमैश्वरम् ॥ (९)
संजयले भने – हे राजन् ! यसरी अर्जुनलाई भनेपछि महायोगेश्वर श्रीहरि कृष्णले
अर्जुनलाई आफ्नो अद्भुत बिराटरूप देखाउनु भयो |
अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम् ।
अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम् ॥ (१०)
दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ॥ (११)
अर्जुनले त्यस विराट रूपमा अनेकौं आँखाहरू, मुखहरू भएका र थरिथरिका गहनाले
सजिएका, शस्त्रअस्त्रले लिएकाका, दिब्य माला र बस्त्रहरू पहिरिएका, अनेकौं सुगन्धित
द्रव्यबाट मगमग भैरहेका र सबैलाई अचम्म पार्ने जताततै फैलिएका असंख्यौं रूपहरू
त्यहाँ देखे |
दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ॥ (१२)
ती महात्मा श्रीकृष्णको त्यो दिव्य विराटरूप आकाशमा एकैपटक एकहजार सूर्यहरू उदाए
झैँ तेजस्वी र प्रकाशपूर्ण थियो |
तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ॥ (१३)
अर्जुनले त्यस महान् विराटस्वरूप भित्र एकैपटक एकै ठाउँमा विविधता सहित सम्पूर्ण
विश्व र देवीदेवताहरूलाई देखे |
ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जयः ।
प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत ॥ (१४)
भगवानको यस्तो तेजस्वी विराटरूपलाई देखेर अर्जुन डरले थर्थरी काम्न लागे, उनको
शिर निहुरियो र दुवै हात जोडेर भगवानसंग यसरी बोले –
(अर्जुन द्वारा विश्वरूप को स्तुति )
अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे सर्वांस्तथा भूतविशेषसङ्घान् ।
ब्रह्माणमीशं कमलासनस्थमृषींश्च सर्वानुरगांश्च दिव्यान् ॥ (१५)
अर्जुनले भने – हे देब ! मैले हजुरको शरीरमा समस्त देवताहरू, प्राणी-समूह, कमलको
आसनमा बसिरहेका ब्रह्माजी, ऋषिहरू र अद्भुत सर्पहरू पनि देखिरहेको छु |
अनेकबाहूदरवक्त्रनेत्रंपश्यामि त्वां सर्वतोऽनन्तरूपम् ।
नान्तं न मध्यं न पुनस्तवादिंपश्यामि विश्वेश्वर विश्वरूप ॥ (१६)
हे विश्वेश्वर, हे विश्वरूप मैले हजुरको शरीरमा जताततै फैलिएका अनन्त हातहरू,
पेटहरू, मुखहरू, आँखाहरू देखिरहेको छु | मैले यी सबै कहाँबाट आरम्भ भएका छन् र
कहाँसम्म फैलिएका छन् – बुझिरहेको छैन |
किरीटिनं गदिनं चक्रिणं च तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्निरीक्ष्यं समन्ताद्दीप्तानलार्कद्युतिमप्रमेयम् ॥ (१७)
मैले हजुहजुर्को असंख्य गदाहरू, मुकुटहरू र चक्रधारण गरेको, आफ्नो तेजिलो प्रकाशले
जताजतै उज्यालो बनाइरहेको, सूर्य अथवा आगो झैँ जाजल्यामान र हेर्नलाई ज्यादै कठीन
स्वरूप देखिरहेको छु |
त्वमक्षरं परमं वेदितव्यंत्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्ययः शाश्वतधर्मगोप्ता सनातनस्त्वं पुरुषो मतो मे ॥ (१८)
मेरो विचारमा हजुरनै जान्नुपर्ने परम तत्व हुनुहुन्छ, धर्मको रक्षक, अब्यय, सनातन र
समस्त विश्वको आधारभूत परमतत्व हुनुहुन्छ |
अनादिमध्यान्तमनन्तवीर्यमनन्तबाहुं शशिसूर्यनेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रंस्वतेजसा विश्वमिदं तपन्तम् ॥ (१९)
हजुरको कुनै आरम्भ, मध्य र अन्त्य छैन, हजुर परमशक्तिशाली हुनुहुन्छ, हजुरका
असंख्य हात छन्, चन्द्रमा र सूर्य हजुरका आँखा हुन् | म यस वखत आफ्नो दिब्य
तेजबाट समस्त विश्वलाई तताइरहेको अत्यन्त हजुरको आगो झैँ तेजिलो मुखमण्डल
पनि देखिरहेको छु |
द्यावापृथिव्योरिदमन्तरं हि व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
दृष्ट्वाद्भुतं रूपमुग्रं तवेदंलोकत्रयं प्रव्यथितं महात्मन् ॥ (२०)
हजुर एक्लै भए तापनि अन्तरीक्ष, आकाश, स्वर्ग र पृथ्वी जताततै ब्याप्त हुनुहुन्छ |
हे महात्मा ! हजुरको यो अचम्मको उग्ररुप देखेर तीनैबाट लोक आकुलव्याकुल छन् |
अमी हि त्वां सुरसङ्घा विशन्ति केचिद्भीताः प्राञ्जलयो गृणन्ति ।
स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घा: स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ॥ (२१)
हजुको यो विराटरूपमा हुलका हुल देवताहरू प्रवेश गरिरहेका छन् भने केही डराएर हात
जोडिरहेका छन् | ऋषि-मुनिका समूहहरू ‘स्वस्ति-स्वस्ति’ भन्दै अनेकौं मन्त्रले हजुरको
स्तुति गरिरहेका छन् |
रुद्रादित्या वसवो ये च साध्याविश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च ।
गंधर्वयक्षासुरसिद्धसङ्घावीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ॥ (२२)
रुद्रहरू, आदित्यहरू, वसुहरू, साध्यगण, विश्वदेव, अश्विनीकुमार, मरुतगण, पितृगण,
गन्धर्ब, यक्ष, असुरहरू र सिद्धजनहरूले समेत अचम्म मानेर हजुरको यो दिब्यरूपलाई
हेरिरहेका छन् |
रूपं महत्ते बहुवक्त्रनेत्रंमहाबाहो बहुबाहूरूपादम् ।
बहूदरं बहुदंष्ट्राकरालंदृष्टवा लोकाः प्रव्यथितास्तथाहम् ॥ (२३)
हे महाबाहु ! हजुरका यी असंख्य मुखहरू, नेत्रहरू, असंख्य हात-पाउ, असंख्य पेटहरू र
असंख्य डरलाग्दा दाँतहरू देखेर म समेत समस्त लोक विचलित भइरहेका छन् |
नभःस्पृशं दीप्तमनेकवर्णंव्यात्ताननं दीप्तविशालनेत्रम् ।
दृष्टवा हि त्वां प्रव्यथितान्तरात्मा धृतिं न विन्दामि शमं च विष्णो ॥ (२४)
हे विष्णु ! आकाश छुने अग्लो, अनेक रूपरंग भएको, भयानक मुख उघारेको र ठुल्ठूला
आँखा भएको हजुरको यो स्वरूप देखेर डरले मेरो बुद्धि र धृति विचलित भएको छ |
दंष्ट्राकरालानि च ते मुखानिदृष्टैव कालानलसन्निभानि ।
दिशो न जाने न लभे च शर्म प्रसीद देवेश जगन्निवास ॥ (२५)
हे जगन्निवास, हे देवेश ! हजुरका असंख्य मुखहरू, मुख भित्र देखिने कालाग्नी सरहका
भयानक दाँतहरू देखेर डरका कारण म दिग्भ्रमित भएको छु अत: म उपर प्रसन्न
हुनुहोस् |
अमी च त्वां धृतराष्ट्रस्य पुत्राः सर्वे सहैवावनिपालसंघैः ।
भीष्मो द्रोणः सूतपुत्रस्तथासौ सहास्मदीयैरपि योधमुख्यैः ॥ (२६)
हजुरको डरलाग्दा दाँत भएका मुखहरूमा आफ्ना समस्त सैनिकगण, भीष्म, द्रोण
सहयोगीहरूहरू, धृतराष्ट्रका छोराहरू समेत हामीतिरका प्रमुख लडाकुहरू पनि एकाएक
प्रवेश गरिरहेछन् |
वक्त्राणि ते त्वरमाणा विशन्ति दंष्ट्राकरालानि भयानकानि ।
केचिद्विलग्ना दशनान्तरेषु सन्दृश्यन्ते चूर्णितैरुत्तमाङ्गै ॥ (२७)
यसरी प्रबेशका क्रममा केही योद्धाहरूको टाउको हजुरका डरलाग्दा दाँतले किचिएर
चकनाचूर भई तिनै दाँतहरूका बीच धँसिएको भयानक दृश्य यहाँ देखिन्छ |
यथा नदीनां बहवोऽम्बुवेगाः समुद्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामी नरलोकवीराविशन्ति वक्त्राण्यभिविज्वलन्ति ॥ (२८)
अनेकौ स-साना नदीहरू बडो वेगपूर्वक जसरी समुद्रमा होमिन्छन् त्यसरी नै यहाँ रहेका
बीर यौद्धाहरू एकाएक गरेर हजुरको आगोझैँ दन्किरहेको डरलाग्दो मुखमा प्रवेश
गरिरहेका छन् |
यथा प्रदीप्तं ज्वलनं पतंगाविशन्ति नाशाय समृद्धवेगाः ।
तथैव नाशाय विशन्ति लोकास्तवापि वक्त्राणि समृद्धवेगाः ॥ (२९)
जसरी पुत्लाहरू बलिरहेको दियोमा आत्महत्याका लागि जानाजान हाम फाल्छन्
त्यसरीनै समस्त लोक आफ्नो विनाशका लागि हजुरको भयानक मुखमा प्रवेश
गरिरहेको देखिन्छ |
लेलिह्यसे ग्रसमानः समन्ताल्लोकान्समग्रान्वदनैर्ज्वलद्भिः ।
तेजोभिरापूर्य जगत्समग्रंभासस्तवोग्राः प्रतपन्ति विष्णो ॥ (३०)
हे सर्बब्यापी श्रीविष्णु ! हजुरले आफ्ना डरलाग्दा मुखले समस्त लोकलाई निल्दै आफ्नो
उग्रतेजबाट प्रताडित गरिरहनुभएको छ |
आख्याहि मे को भवानुग्ररूपोनमोऽस्तु ते देववर प्रसीद ।
विज्ञातुमिच्छामि भवन्तमाद्यंन हि प्रजानामि तव प्रवृत्तिम् ॥ (३१)
हे श्रीकृष्ण ! ममा उपर प्रसन्न हुनुहोस् | यस्तो डरलाग्दो रूपमा देखा परेको हजुरको
मूलस्वरूप कस्तो छ त्यस विषयमा मलाई बताउनुहोस् |
(भगवान द्वारा आफ्नो प्रभाव को वर्णन)
श्रीभगवानुवाच
कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धोलोकान्समाहर्तुमिह प्रवृत्तः ।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे येऽवस्थिताः प्रत्यनीकेषु योधाः ॥ (३२)
श्रीभगवान् भन्नुहुन्छ – म यस बखत काल बनेर लोकको विनाश पार्न यहाँ आएको छु |
तिमी नभए तापनि दुवैतिरका यी समस्त सेनाहरू निश्चित रूपमा मारिने नै छन् |
तस्मात्त्वमुक्तिष्ठ यशो लभस्व जित्वा शत्रून्भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव निमित्तमात्रं भव सव्यसाचिन् ॥ (३३)
हे सव्यसाचिन् ! त्यसैले उठ र लडाईमा मैले पहिले नै मारिसकेका यी सैनिकहरूलाई
मारेर सुयश प्राप्त गर्दै ऐश्वर्यशाली राज्यको उपभोग गर | तिमी युद्धको एउटा
माध्यममात्र बन |
द्रोणं च भीष्मं च जयद्रथं च कर्णं तथान्यानपि योधवीरान् ।
मया हतांस्त्वं जहि मा व्यथिष्ठायुध्यस्व जेतासि रणे सपत्नान् ॥ (३४)
द्रोणाचार्य, पितामह भीष्म, बीर जयद्रथ, महावीर कर्ण र अन्य बीर योद्धाहरूलाई मैले
पहिले नै मारिसकेको छु | त्यसैले यस विषयमा कुनै चिन्ता नगरी लडाई गर, तिमीले
यी शत्रुलाई सजीलैसंग जित्नेछौं |
(भययुक्त अर्जुन द्वारा भगवान को स्तुति)
संजय उवाच
एतच्छ्रुत्वा वचनं केशवस्य कृतांजलिर्वेपमानः किरीटी ।
नमस्कृत्वा भूय एवाह कृष्णंसगद्गदं भीतभीतः प्रणम्य ॥ (३५)
संजयले भने – हे राजा ! भगवान् श्रीकृष्णका यी बचन सुनेपछि थरथर काम्दै अर्जुनले
हातजोडेर बारम्बार उहाँलाई नमस्कार गरे | अनि, ज्यादै डराउदै अक्मकिदो स्वरमा
यसरी भने |
अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकीर्त्या जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिद्धसङ्घा: ॥ (३६)
अर्जुनले भने – हे ऋषिकेश ! हजुरको यो विश्वस्वरूप देखेर समस्त विश्व हर्षित छ र
हजुरकै कीर्तन गरिरहेछ | पापी राक्षसहरू डरले चारैदिसातिर भागिरहेका देखिन्छन् भने
पुण्यजनहरूको समूहले तपाईलाई नमस्कार गरिरहेछ |
कस्माच्च ते न नमेरन्महात्मन् गरीयसे ब्रह्मणोऽप्यादिकर्त्रे ।
अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसत्तत्परं यत् ॥ (३७)
हे परमेश्वर ! हजुर आदिपिता ब्रह्माभन्दा पनि महान् हुनुहुन्छ, अनि तिनले हजुरलाई
नमस्कार किन नगरून् ? किनभने तपाई नै देब-प्रमुख, अनन्त, जगतको प्रमुख
आश्रयस्थल, अक्षर र कारणहरूको पनि कारण हुनुहुन्छ |
त्वमादिदेवः पुरुषः पुराणस्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेद्यं च परं च धाम त्वया ततं विश्वमनन्तरूप ॥ (३८)
हजुर नै पुराणमा वर्णित आदिदेव, विश्वको आधार, परम ज्ञानी, प्रमुख ज्ञेय-तत्व
हुनुहुन्छ भने यस भौतिकजगतबाट पर रहेर पनि यसमा ब्याप्त हुनुहुन्छ |
वायुर्यमोऽग्निर्वरुणः शशाङ्क: प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेऽस्तु सहस्रकृत्वः पुनश्च भूयोऽपि नमो नमस्ते ॥ (३९)
हजुर नै हावा, यमराज, अग्नि, वरुण, चन्द्रमा, प्रजापति र प्रपितामह पनि हुनुहुन्छ |
हजुरलाई हजारौं-हजार पटक नमस्कार छ |
नमः पुरस्तादथ पृष्ठतस्ते नमोऽस्तु ते सर्वत एव सर्व ।
अनन्तवीर्यामितविक्रमस्त्वंसर्वं समाप्नोषि ततोऽसि सर्वः ॥ (४०)
हे कृष्ण ! हजुरलाई अगाडि, पछाडी, माथि र तल सबैतिरबाट नमन छ | हजुरको
शक्ति अनन्त छ, हजुरमा सबैथोक अबस्थित छ र हजुर सर्बब्यापि परमात्मा हुनुहुन्छ |
सखेति मत्वा प्रसभं यदुक्तं हे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदंमया प्रमादात्प्रणयेन वापि ॥ (४१)
मैले अज्ञानतावस हजुरको यस्तो महानता नबुझी आफ्नै साथी ठानेर हठपूर्वक प्रेम वा
प्रमादले हजुरलाई ‘हे कृष्ण, हे यादब हे मित्र भनेर सम्बोधन गरें, त्यसका लागि क्षमा
पाऊं |
यच्चावहासार्थमसत्कृतोऽसि विहारशय्यासनभोजनेषु ।
एकोऽथवाप्यच्युत तत्समक्षंतत्क्षामये त्वामहमप्रमेयम् ॥ (४२)
यस्तै, सँगै आराम गर्दा, सुत्दा, भोजन गर्दा र एक्लै वा संगीहरूसंग रमाइलो गर्दा
हजुरलाई अनेकौं प्रकारले सम्बोधन गरें हुँला, ती सबैका लागि हे अप्रमेय ! मलाई पुन:
माफ गर्नुहोस् |
पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
न त्वत्समोऽस्त्यभ्यधिकः कुतोऽन्योलोकत्रयेऽप्यप्रतिमप्रभाव ॥ (४३)
हजुर यस समस्त सृष्टिका पिता, पूजनीय र गुरु हुनुहुन्छ | हजुरसरहको अथवा बराबरको
अरू कोही छैन | हे अतुलनीय प्रभावबाल ! यो तिनैलोक्मा हजुरको बरावरी कसैले गर्न
सक्दैन |
तस्मात्प्रणम्य प्रणिधाय कायंप्रसादये त्वामहमीशमीड्यम् ।
पितेव पुत्रस्य सखेव सख्युः प्रियः प्रियायार्हसि देव सोढुम् ॥ (४४)
हे देव ! तसर्थ हजुरको महान् स्वरूपप्रति म नतमस्तक छु, त्यसलाई प्रणाम गर्छु र
स्तुति टक्र्याउँछु | जसरी एउटा पिताले पुत्र, मित्रले मित्र र प्रेमीले प्रेमीले गरेका
अपराधहरू सजिलै क्षमा गर्छन्, मेरा अपराधहरू पनि क्षमा गर्नुहोस् |
(अर्जुन द्वारा चतुर्भुज रूपको लागि प्रार्थना)
अदृष्टपूर्वं हृषितोऽस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मनो मे ।
तदेव मे दर्शय देवरूपंप्रसीद देवेश जगन्निवास ॥ (४५)
हजुरको पहिला कसैले पनि नदेखेको स्वरूप देखेर म हर्षित भएको छु भने मेरो मन
डरले थरथरी कामिरहेको छ | हे देवेश, हे जगन्निवास ! ममा दया गरेर उही पहिलेको
रूपमा दर्शन दिनुहोस् |
किरीटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथैव ।
तेनैव रूपेण चतुर्भुजेनसहस्रबाहो भव विश्वमूर्ते ॥ (४६)
हे विश्वरूप, हजारहातवाल परमेश्वर ! म पुन: हजुरको उही मुकुटधारी, हातमा शंख,
चक्र, कमलको फूल धारण गरेको र चतुर्भुज रूपमा देख्न चाहन्छु |
(भगवान द्वारा विश्वरूप दर्शन को महिमा र चतुर्भुज दर्शन)
श्रीभगवानुवाच
मया प्रसन्नेन तवार्जुनेदंरूपं परं दर्शितमात्मयोगात् ।
तेजोमयं विश्वमनन्तमाद्यंयन्मे त्वदन्येन न दृष्टपूर्वम् ॥ (४७)
श्रीभगवानले भन्नुभयो – हे अर्जुन ! तिमीसंग खुशी भएर मैले तिमीलाई आफ्नो
योगशक्तिको प्रयोग तेजोमय, अनन्त, आदि, पहिले कसैले पनि नदेखेको आफ्नो दिब्य
विश्वरूप देखाएँ |
न वेदयज्ञाध्ययनैर्न दानैर्न च क्रियाभिर्न तपोभिरुग्रैः ।
एवं रूपः शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर ॥ (४८)
हे कुरुबीर ! वेदहरूको अध्ययन, दान-दातब्य, ठूलो तपस्या वा जस्तोसुकै कर्म गरे
तापनि मेरो यस्तो रूप कसैले देख्न सक्दैन | तिमीभन्दा पहिले यस मृत्युलोकमा मेरो
यस्तो विराटस्वरूप कसैले देखेको थिएन |
मा ते व्यथा मा च विमूढभावोदृष्ट्वा रूपं घोरमीदृङ्ममेदम् ।
व्यतेपभीः प्रीतमनाः पुनस्त्वंतदेव मे रूपमिदं प्रपश्य ॥ (४९)
मेरो यस्तो भयानक रूप देखेर तिमी डरायौ वा तिम्रो बुद्धि भयो होला | अव नडराऊ,
सहजतामा फर्कर फेरी उही सरलरूपमा मेरो दर्शन गर |
संजय उवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रूपं दर्शयामास भूयः ।
आश्वासयामास च भीतमेनंभूत्वा पुनः सौम्यवपुर्महात्मा ॥ (५०)
संजयले भने – यसरी बासुदेबले अर्जुनलाई सम्बोधन गरपछि पुन: आफ्नो पुरानो
स्वरुपमा फर्किनुभयो र महात्मा अर्जुनलाई सात्वना दिनुभयो |
(चतुर्भुज रूप के दर्शन की दुर्लभता र अनन्य भक्ति द्वारा सुलभता)
अर्जुन उवाच
दृष्ट्वेदं मानुषं रूपं तव सौम्यं जनार्दन ।
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ॥ (५१)
अर्जुनले भने – हे जनार्दन ! हजुरको यो सौम्य मानवरूप देखेपछि मेरो चित्त स्थीर
भएको छ र म आफ्नो प्राकृतिक स्वभावमा फर्किएको छु |
श्रीभगवानुवाच
सुदुर्दर्शमिदं रूपं दृष्टवानसि यन्मम ।
देवा अप्यस्य रूपस्य नित्यं दर्शनकाङ्क्षिणः ॥ (५२)
भगवानले भन्नुभयो – तिमीले देखिरहेको मेरो यो स्वरूप देवताहरूका लागि पनि दूर्लभ
छ | उनीहरू पनि यो स्वरूपको दर्शन पाउँन सधैं-सधैं इच्छित रहन्छन् |
नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।
शक्य एवं विधो द्रष्टुं दृष्ट्वानसि मां यथा ॥ (५३)
जस्तो रूपमा तिमीले मेरो दर्शन गरिरहेका छौ, यसलाई वेदाध्यायन, तप, दान
पूजा-आजा गरेर कसैले देख्न सक्दैन |
भक्त्या त्वनन्यया शक्य अहमेवंविधोऽर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्वेन प्रवेष्टुं च परन्तप ॥ (५४)
हे अर्जुन ! म त केवल अनन्य भक्तिबाट यसरी देखिन सम्भव हुन्छु | हे परन्तप !
भक्तिभावले मात्र मलाई यथार्थरूपमा जान्न, ममा प्रवेश गर्न र मेरो दर्शन गर्न सम्भव
छ |
मत्कर्मकृन्मत्परमो मद्भक्तः सङ्गवर्जितः ।
निर्वैरः सर्वभूतेषु यः स मामेति पाण्डव ॥ (५५)
हे अर्जुन ! संगरहित भएर जसले सधैं-सधैं मेरा लागि कर्म गर्छ, मेरो भक्ति गर्छ र
सबै प्राणीमाथि मैत्रिभाव राख्छ, उसले अवश्य नै मेरी प्राप्ति गर्छ वा मलाई पाउँछ |
|| यसरी श्रीमद्भगवत्-गीताको विश्वरूपदर्शन नामक
एघारौं अध्याय सकियो ||
No comments:
Post a Comment